स्थानीय स्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।स्थानीय कृषि सहकारी संस्था तथा व्यावसायिक ड्रागन फ्रुट उत्पादक किसानहरूको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन बागमती प्रदेशका कृषि मन्त्रीले एक समारोहबीच उद्घाटन गर्नुभयो। तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषक, उपभोक्ता, कृषि विज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको छ।
महोत्सवमा किसानहरूले आफ्नै बगैंचाबाट संकलन गरेका ताजा तथा अर्गानिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन्। रातो तथा सेतो गुदी भएका विभिन्न प्रजातिका ड्रागन फ्रुट आकर्षक मूल्यमा उपलब्ध गराइएको आयोजकले जनाएको छ।नयाँ खेती गर्न इच्छुक कृषकहरूका लागि माटोको तयारी, बिरुवा रोपण, स्याहार–सम्भार तथा रोग व्यवस्थापनसम्बन्धी नि:शुल्क प्राविधिक परामर्श सेवा समेत प्रदान गरिएको छ।
स्थानीय कृषकहरूका अनुसार हेटौंडा र आसपासको हावापानी ड्रागन फ्रुट खेतीका लागि उपयुक्त देखिएको छ। महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउँदै किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ।
पछिल्ला केही वर्षयता हेटौंडा तथा आसपासका क्षेत्रमा व्यावसायिक ड्रागन फ्रुट खेतीप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। कम लगानी, न्यून पानीको आवश्यकता र राम्रो आम्दानीको सम्भावनाका कारण यसलाई वैकल्पिक नगदे बालीका रूपमा हेरिएको छ।
बागमती प्रदेश कृषितथा पशुपञ्छि विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजार को आयोजनामा भएको यस महोत्सव अवधिभर करिब १० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा लाखौँ रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरणसँगै कृषि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
हेटौंडा उपमहानगरपालिकाको प्राविधीक सहयोग तथा सहलगानिमा उत्पादन भएका ड्रागन फ्रुटले स्थानीय बजारमा माग धान्न हम्मे हम्मे भैरहेको किसानहरू बताउनुहुन्छ।



