हेटौँडा उपमहानगरपालिकाकाे एक समारोहका बीच 'पूर्ण खोप सुनिश्चित तथा दिगोपना' उपमहानगर घोषणा गरिएको छ। स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायको अथक प्रयासपछि उपमहानगरपालिकाले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।
नगरभित्रका खोप (१५ - ५९ उमेर महिनाकाे) सबै बालबालिकाहरूले सरकारले तोकेका सम्पूर्ण खोपहरू पाएको र आगामी दिनमा पनि यसलाई पूर्ण रूपमा निरन्तरता दिने प्रतिबद्धतासहित यो घोषणा गरिएको हो।स्वास्थ्य र भविष्यप्रतिको ठूलो प्रतिबद्धता घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान तथा जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा हेटौँडाले यो एउटा ऐतिहासिक फड्को मारेको बताए।"बालबालिकाको स्वास्थ्य नै नगरको भविष्य हो। आजको यो घोषणा केवल एक औपचारिकता मात्र होइन, बरु हाम्रा आउँदा पुस्तालाई महामारी र गम्भीर रोगहरूबाट सुरक्षित राख्ने हाम्रो साझा संकल्पको प्रमाण हो।"उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार नगरका सबै १९ वटै वडामा घरधुरी सर्वेक्षण र सूक्ष्म अनुगमन गरेपछि मात्र यो घोषणा सम्भव भएको हो। कोही पनि बालबालिका खोप पाउनबाट नछुटुन् भन्नका लागि स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरू टोल-टोलमा पुगेका थिए।






