FAQs Complain Problems

ढाकाको कपडा उत्पादनमा जोडिए हेटौंडाका महिला

ढाकाको कपडा उत्पादनमा जोडिए हेटौंडाका महिला

कपडाको व्यवसायमा मंहङगो मानिने ढाकाको उत्पादनमा हेटौंडाका महिलाहरु जोडिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिम मार्फत पोख्त बन्दै गरेका नगरभित्रका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका छन् ।

उपमहनगरपालिकाको सहकार्यमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट दुई महिने ढाकाको कपडा बुनाई सम्बन्धी बेसिक तालिम लिएकालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा एड्भान्स तालिम दिएसँगै हेटौंडाका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिनु भएको हो । उपमहानगरपालिकाले हेटौंडा, १५, १७ र १८ नम्बरका ११ जना महिलाहरुलाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनीहरुले तालिम दौराहन ढाकाको धागो मार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्रीहरु उत्पादन थालेका छन् ।

आईतबार तालिमको अनुगमनमा पुग्नु भएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा ज्यू सहितको टोलीलाई प्रशिक्षणको क्रममा रहेकाहरुले आफैले उत्पादन गरेको ढाकाको सलले स्वागत गरेका थिए । करिव ३ लाख रुपियाँको लगानीमा उपमहानगरपालिकाले तीन वटा वडामा रहेका ११ जना महिलाहरुलाई एड्भान्स तालिम दिदै आएको छ । तालिम साउन २१ गते सम्म सञ्चालन हुने हेटौंडा उपमहानगरपाकिला आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले जानकारी दिनु भएको छ । अहिले तालिमको क्रममै सहभागिले निकै महंगो मुल्यका सामानहरु उत्पादन गर्ने थालेको वहाँले बताउनु भयो ।

सहभागिहरुलाई १२ वटा तान मार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि सिन्धुलीका बेलिमाया जिनेल मगर उनको सहयोगीले प्रशिक्षण दिइरहेका छन् । तालिमको अनुगमन गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले तालिम पछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लाग्न आग्रह गर्नु भयो । उनले सधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्न प्रत्सान गर्दै तालिम लिएका महिलाले वर्ष भरीमा धेरै उत्पादन र बिक्री गर्नेलाई सम्मान गरीने बताइन् । वहाँले भन्नु भयो, ‘व्यसायमा जोडिनका लागि आर्थिक रुपमा असहज भए उपमहानगरपालिका तयार छ, तर काम गर्न आर्थिक समस्या पर्दैन । नगरप्रमुख लामाले उत्पादन भएको सामग्री बिक्रीका लागि उपमहानगरपालिकाले वातावरण निर्माण गर्दिने समेत जानकारी दिनु भयो ।

अनुगमनका क्रममा हेटौंडा १८ का अध्यक्ष अनिल बानियाँले तालिमको नाममा तालिम दिने मात्र होइन प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह समेत गर्नु भयो । तालिम भनेपछि हरेक ठाउँमा जाने बानिलाई त्याग्दै दिगो र व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले महिलाहरुको आय-आर्जनका लागि दिएको तालिम बालुवामा पानी हाले झै नबनाउँन सहभागिहरुलाई सुझाव दिनु भयो ।