FAQs Complain Problems

खानेपानी बोर्डले हेटौंडा १४ को खानेपानीको व्यवस्थापन गर्ने

हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा बितरण हुँदै आएको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्ने भएको छ । सुक्रबार उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित २ सय ८८ वटा धारा, डिप बोरि· तथा पानी टंकी सहितको खानेपानी योजना बोर्डमा हस्तान्तरण भएसँगै वडाको खानेपानीको व्यवस्थापन बोर्डले गर्ने भएको हो ।
खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै २०८० मंसिर महिना देखि लागु हुने गरी संचालनमा रहेका २ सय ८८ वटा धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।
यसअघि १४ नम्बर वडामा रहेका मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भई सकेका छन् । बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्त सम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको छ ।