पछिल्लो समय रात्रि कालमा हुने अनैतिक कृयाकलापका कारण चर्चामा रहेको हेटौंडा–१०, फरेष्ट्री क्षेत्रमा बृहत सरसफाई गरीएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने फरेष्ट्री क्षेत्रमा हुने ट्रक तथा अन्य सवारीसाधन पार्किङ गरी बिभिन्न क्षेत्रबाट हेटौंडा आएका यौनिक अल्पसंख्यकहरुका कारण हुने अनैतिक गतिबिधि रोक्नका लागि हेटौंडा उपमहानगरपालिकाको संयोजनमा बिहीवार सरसफाई कार्यक्रम गरीएको हो ।
राजमार्ग क्षेत्रमा पर्ने र नजिकै घना जंगलका कारण गलत काम भएको जनगुनासोसँगै फरेष्ट्री क्षेत्रमा सरसफाइसँगै पार्किङ निषेधित क्षेत्र घोषणा समेत गरीएको छ। सफाइसँगै उपमहानगरले यस क्षेत्रमा लाईटिङको व्यवस्था गरी थप व्यवस्थित बनाउने तयारी गरेको उपमहानगरका नगर प्रमुख श्री मीना कुमारी लामाज्यूले जानकारी दिनुभयो।
स्थानीय प्रशासनसँगको सहकार्यमा फरेष्ट्रीदेखि क्रान्तिकारी दरवार क्षेत्रमा सानाठूला सवारीलाई पार्किङका लागि निषेध गरेको उहाँले बताउनुभयो। अहिले त्यस क्षेत्रमा हरेक बुट्यानहरू हटाइएको छ भने भएका फोहरलाई व्यवस्थापन गरी बजार प्रबेश गर्ने क्षेत्रलाई आकर्षक बनाउँने काम भएको बताइएको छ ।
‘सफा हेटौंडा अभियान’ निर्माण अन्तर्गत आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामूदायिक प्रहरी सेवा केन्द्रको साझेदारी रहेको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख श्री राजेश बानियाज्यू, मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज चिलुवालज्यू, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सूर्यप्रसाद गौतमज्यू, मकवानपुरका प्रहरी प्रमुख श्री विश्वराज खड्काज्यू, शसस्त्र प्रहरी बल हेटौंडाका प्रमुख श्री ज्ञानप्रसाद भुर्तेलज्यू, हेटौंडा १० का अध्यक्ष श्री फुर्वा दोर्जे तामाङज्यू, फ्रेण्डस हेटौंडाका कार्यक्रम संयोजक श्री किरण थापाज्यू लगाएतको उपस्थितीमा बृहत सफाई कार्यक्रम गरीएको हो ।