FAQs Complain Problems

उपमहानगरका तिन स्थानमा हिंसा विरुद्ध सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको तीन स्थानमा  प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरीएको छ ।

हेटौंडा उपमहानगरपालिकाले नगरको ३, १३ र १६ नम्बर वडामा चेतनामुलक प्रशिक्षण सहित सडक नाटक प्रदर्शन गरेको हो । कार्यक्रम अन्तर्गत मंगलबार हेटौंडा ३, बसामाडीमा आयोजित लैङ्गिक हिंसा विरुद्धको प्रशिक्षणमा अधिवक्ता मनप्रसाद भट्टराईले सहजिकरण गरेका थिए । उनले सहभागीलाई हिंसाको चक्रका बारे जानकारी गराएका थिए । हिंसाको चक्रमा किशोर अवस्था, यौवन अवस्था, गर्भ अवस्था र बृद्ध अवस्थामा बढि मात्रामा हुने गरेको जानकारी दिए । उनले अहिले अदालतको मुद्धाको आधारमा ४० कटेका पुरुषहरुबाट हिंसाका घटनाहरु हुने गरेको जानकारी गराए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले बालमैत्री स्थानीय शासन, हिंसाका क्रममा आवश्यक पर्ने सरकारी संयन्त्र, न्यायीक समितिका मेलमिलाप कर्ताको भूमिका र समाजमा हुने घटनाहरूका बारे सहजिकरण गरेकी थिइन्।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नाराका साथ हेटौंडा १३ वनस्पती र हेटौंडा १६ हटियामा कार्यक्रम सम्पन्न भैसकेको महिला तथा बालबालिका महाशाखाले जनाएको छ। प्रशिक्षणसँगै सञ्चालित नाटकमा बोक्सीको आरोपमा गरीने हिंसा, श्रीमानले मादक पदार्थ सेवन गरेर गर्ने कुटपिट, ललाई फकाई, बाह्य मुलुक लगेर बेचबिखन गर्ने सहितका बिषय समेटिएको थियो ।

कार्यक्रम सञ्चालनको क्रममा नगरस्तरीय महिला जागरण समूह , मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजाल र  राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरीएको थियो । तिन वडामा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष सहित जनप्रतिनिधि र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।