FAQs Complain Problems

आवधिक योजना बनाउँदै हेटौंडा उपमहानगरपालिका

आगामि ५ बर्षमा गर्ने कामले नगरको बिकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि यस हेटौंडा उपमहानगरपालिकाको कार्यालयले आवधिक योजना र मध्यकालीन खर्च संरचना तर्जुमा निर्माण थालेको छ। यस उपमहानगरपालिकाले बनाएको ५ बर्षे लक्ष्यलाई कार्यान्वयन गराउँदै नगरको आर्थिक, समाजिक, पूर्वाधार बिकास र सम्भावनाको आँकलन गर्दै नगरलाई अब्बल बनाउँन मद्दत गर्नेछ ।

करिब ४ महिनाको समय सीमा अवधि राखेर यस उपमहानगरपालिकाले आवधिक योजना निर्माण थालेको छ। योजना निर्माणका क्रममा बागमती प्रदेशको राजधानी शहरको रुपमा रहेको हेटौंडाको दिगो बिकास र सम्भावनाको आँकलन गरिने यस उपमहानगरपालिकाको समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताउनु भएको छ।

महानगरको लक्ष्य लिएर अघि बढिरहेको उपमहानगरपालिकालाई आवधिक योजनाले यहाँको समग्र बिकासको गतिबिधी र सम्भावनालाई (जिआइएस) प्रबिधि मार्फत जोडेर वडागत देखाउन सकिने गरी काम अघि बढाइएको छ। योजना निर्माण पूर्व उपमहानगरपालिकाले निर्माण गर्ने आवधिक योजनाबारे आइतबार छलफल गरिएको छ ।

यस उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, महाशाखा/ शाखा प्रमुख बीच परामर्श दाता संस्थाले अभिमुखीकरण समेत गरेको छ। योजना अनुसार सोमबार देखि नगरका बिभिन्न वडाहरुको बेसलाईन सर्बे सुरु गरिने भएको छ ।

सर्बे मार्फत नगरका वडाहरुको भौगोलिक सूचना प्रणालिमा आधारित तथ्याङ्‍क संकलन गर्ने कार्य थालिने छ। योजना निर्माण अन्तर्गत सोमबार श्रावण १५ देखि १९ गते सम्म प्रत्यक वडाहरुमा पुगि पहिलो चरणको सर्बे हुने छ। सर्बे पछि नगरको समग्र आर्थिक, समाजिक अवस्था मापन गर्न सकिने बताइएको छ ।

नगरको सामाजिक तथा आर्थिक बिकासका लागि उपलब्ध साधन श्रोतको परिचालन गरी लक्ष्य नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चाहिने श्रोतको पहिचान गर्ने दस्तावेजको रुपमा आवधिक योजना प्रस्तुत हुने छ ।