स्थानीय तहमा निर्वाचित भएका नगरका जनप्रतिनिधीहरूले तिन वर्ष (आ.व.२०७९/०८०, २०८०/०८१ र २०८१/०८२ को हालसम्म) मा गरेका काम र आगामी दिनमा ध्यान दिनुपर्ने विषयमा छलफल भएको छ । २०८१ पौष २० र २१ गरी दुई दिन पर्यटकीय क्षेत्र सौराहामा भएका छलफलले दश बुँदे घोषणा पत्र जारी गरेको छ ।
समीक्षामा गएका आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षमा हालसम्मको समीक्षा गर्दै आगामी आर्थिक वर्षको कार्यादेश बारे छलफल गरेको थियो । छलफलमा प्रदेश सरकारसँग लागत सहभागितामा निर्माण गरिएको हेटौँडा–११, थानाभर्याङस्थित निर्माणाधीन फलफूल तथा तरकारीको थोक बजारमा प्रदेश सरकारको मन्त्रालय स्थापना गरिएको प्रति ध्यानाकर्षण गराइएको छ । कृषकका उपजको बजारीकरणका लागि निर्माण गरिएको संरचनामा मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको उल्लेख गर्दै निर्माण कार्य पूरा गरेर उपमहानगरपालिकामार्फत थोक बजार सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार खण्डको सडक विस्तार, एक सय भन्दा कम सङ्ख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको विद्यालय गाभ्ने र गाभिने विद्यालयका विद्यार्थीलाई यातायातको सुविधासहित नजिकको विद्यालयमा समायोजन गर्ने, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई गाभेर ठूलो विद्यालय बनाउने, अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय भएको थियो ।
उपमहानगरपालिकाको हालसम्मको उपलब्धिका विषयमा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रस्तुति गर्नुभएको थिए । प्रदेश सरकारका योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुन नसक्दा समस्या भएको जनप्रतिनिधिको भनाइ रहेको थियो । छलफलमा गुणस्तरीय पूर्वाधार निर्माणको विषयले पनि प्रवेश पाएको र हेटौँडा उपमहानगरपालिकाको प्रमुख क्षेत्रको विद्युतीय लाइनलाई भूमिगत गर्न आवश्यक भएको, महिला मैत्री सहर निर्माण, राजमार्ग २५ मिटर विस्तार सम्बन्धी विषयहरुमा जनप्रतिनिधिहरुले सुझाव दिएका थिए ।
औपचारिक छलफलका क्रममा जननिर्वाचित जनप्रतिनिधीहरूले १० बुँदे निर्णय गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताउनुभयो। नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको समीक्षामा उपप्रमुख राजेश बानियाँको आतिथ्य रहेको थियो ।