FAQs Complain Problems

चुरियामाई सुरुङको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी समितिलाई हस्तान्तरण

हेटौंडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

यस सम्बन्धमा बुधबार सम्पन्न सम्झौतापत्रमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी वहन गर्नेछ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ भने संकलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमै खर्च गर्नुपर्ने उल्लेख गरिएको छ।

सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय–व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने दायित्व समेत सम्झौतामा समावेश गरिएको छ।

वि.सं. १९७२ (सन् १९१५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको शासनकालमा निर्माण सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको चुरियामाई सुरुङ तत्कालीन हेटौंडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो। करिब दुई वर्ष लगाएर निर्माण गरिएको यस सुरुङलाई दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा चिनिन्छ। सुरुङ निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजंग थापाले गर्नुभएको थियो।

लामो समयसम्म प्रयोगविहीन रहेको उक्त सुरुङको संरक्षण तथा मर्मत बागमती प्रदेश सरकारले सम्पन्न गरी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। हाल चुरियामाई सुरुङ मकवानपुर जिल्लाको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

उपमहानगरपालिकाले स्थानीय समुदायको सहभागितामार्फत ऐतिहासिक सम्पदाको दीगो संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।