FAQs Complain Problems

महिला मैत्री हेटौंडा निर्माणका विषयमा बहस सम्पन्न

हेटौंडा, असार ४ – महिला मैत्री शहरको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढिरहेको हेटौंडा उपमहानगरपालिकाले “महिला मैत्री हेटौंडा: वर्तमान र भविष्य तथा समतामूलक समाज निर्माणमा स्थानीय तहको भूमिका” विषयक बहस कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा महिला अधिकार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा महिला सशक्तीकरणका विषयमा सरोकारवालाबीच व्यापक छलफल भएको थियो। बहसमा सहभागी वक्ताहरूले महिला मैत्री शहर निर्माणका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलाको सुरक्षित, सम्मानजनक र अवसरयुक्त सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाले महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक उत्तरदायी योजना तथा बजेट, उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास र निर्णय प्रक्रियामा महिलाको सहभागिता वृद्धि गर्न सञ्चालन गरिएका कार्यक्रमहरूको समीक्षा गरिएको थियो। साथै महिला मैत्री शहर निर्माणका क्रममा देखिएका चुनौती तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत र व्यवहारिक उपायबारे समेत छलफल भएको थियो।

सहभागीहरूले समतामूलक समाज निर्माणका लागि महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको समान पहुँच र सहभागिता सुनिश्चित गर्न स्थानीय तहले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा जनप्रतिनिधि, महिला अधिकारकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा महिला समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।