हेटौंडा, २०८३ बैशाख २९ — हेटौंडा उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालय, हेटौंडाबीच मिति २०८३ वैशाख २९ गते सम्पन्न सम्झौताअनुसार हेटौंडा उपमहानगरपालिकाले २०८३ जेठ १३ गतेदेखि करदातासँग सम्बन्धित विभिन्न सेवाहरू स्थानीय तहबाटै प्रदान गर्ने भएको छ।
करदातालाई सहज, छिटो तथा पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस व्यवस्थाअन्तर्गत नगरपालिकाबाट करदाता दर्ता, स्थायी लेखा नम्बर (PAN) सम्बन्धी सेवा, मूल्य अभिवृद्धि कर (VAT) दर्ता लगायतका सेवाहरू उपलब्ध हुनेछन्।
उपमहानगरपालिकाले प्रदान गर्ने प्रमुख सेवाहरू यसप्रकार रहेका छन्:
- क) व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता गर्ने
- ख)अन्तःशुल्क दर्ता तथा इजाजतपत्र नवीकरण सम्बन्धी कार्य गर्ने
- ग)व्यक्तिगत PAN लाई व्यावसायिक PAN मा रूपान्तरण गर्ने
- घ)करदाता विवरण तथा अभिलेख अद्यावधिक गर्ने
- ङ)करदाताको प्रोफाइल तयार तथा अद्यावधिक गर्ने
- च)मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता गर्ने
- छ)आयकरबाट VAT मा रूपान्तरण गर्ने
- ज)दर्ता खारेजी सम्बन्धी कार्य गर्ने
- झ)कर चुक्ता प्रमाणपत्र जारी गर्ने
- ञ)कार्यालय स्थानान्तरण तथा शाखा थप सम्बन्धी सेवा प्रदान गर्ने
- ट)करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने
- ठ)करदाताको बक्यौता लगत सम्बन्धी कार्य गर्ने
करदाताले सामान्य कर प्रशासन सम्बन्धी सेवाका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने बाध्यता कम हुने तथा स्थानीय स्तरमै सेवा प्राप्त हुने अपेक्षा गरिएको छ। यसबाट व्यवसायी, उद्योगी तथा सर्वसाधारण करदातालाई समय र खर्च बचत हुने विश्वास लिइएको छ।
