FAQs Complain Problems

नगरको विकासका सन्दर्भमा सरोकारवालाहरुसँग अन्तर्क्रियात्मक गोष्ठी

यस हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक नगरको विकासका सन्दर्भमा सरोकारवालाहरुसँग अन्तर्क्रियात्मक गोष्ठी गरेको छ ।

करिब एक वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनाव जितेर पाँच वर्षका लागि उपमहानगरको नेतृत्व सम्हाल्नुभएकी मेयर मिनाकुमारी लामाज्यूले शुक्रबार सबै क्षेत्रका सरोकारवालाहरुसँग उपमहानगरको व्यवस्थित विकासका लागि सुझाव माग्नुभएको हो। गोष्ठीमा सहभागीहरुले उपमहानगरको व्यवस्थित विकासका लागि पहिला लक्ष्य र गन्तव्य निर्धारण गर्न सुझाव दिएका छन् । उपमहानगरलाई कस्तो बनाउने र विकासको कुन मोडलबाट अगाडि बढ्ने भन्नेमा उपमहानर नेतृत्व पहिला स्पष्ट हुनुपर्ने गोष्ठीमा सहभागीहरुले बताएका छन् । हेटौंडालाई औद्योगिक सहर, पर्यटन, शिक्षा, स्वास्थ्य वा अन्य क्षेत्रमध्ये एउटा क्षेत्रलाई प्राथमिकतामा दिएर व्यवस्थित योजना बनाउनु पर्नेमा अधिकांशले जोड दिए ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दल, सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो । प्रदेश प्रमुख शर्माज्यूले उपमहानगरलाई नागरिकले महशुस गर्न सक्ने गरी विकास गर्नुपर्ने बताउनुभयो। पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेर समानुपातिक विकासको अवधारणा अपनाउनुपर्ने उहाँको भनाई रहेको छ। हेटौंडा उपमहानगरका पूर्वमेयर तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलज्यूले विकास केलाई भन्ने बताउँदै विकासबारे बुझ्नुपर्ने बताउनुभयो। सडक, पुल निर्माणलाई मात्रै विकास देख्न नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा गरिएको लगानीलाई पनि विकासको रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

गोष्ठीमा राष्ट्रियसभा सदस्य तथा बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.खिमलाल देवकोटाज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। देवकोटाले स्थानीय शासन, संघीयता, अन्तर तह समन्वय, बजेट तर्जुमा र स्थानीय तहका असल अभ्यास बारे प्रस्तुतीकरण दिँदै उपमहानगरको विकासमा व्यवस्थित योजना बनाएर अघि बढ्नुपर्ने बताउनु भयो।