FAQs Complain Problems

हेटौंडामा मालवाहक सवारी प्रवेशमा समय निर्धारण

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा समय निर्धारण गरेको छ । सोमबार उपमहानगरपालिकामा बसेको बैठकले बजार क्षेत्रमा रहेका व्यवसायीले सामान ओसार पसारमा गरेको मनलाग्दीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै समय निर्धारण गर्ने निर्णय गरेको हो ।

बजारको मुख्य क्षेत्र बाइसाप सडक देखी उत्तर त्रिभुवन राजपथको चौकिटोल ओरालो देखि दक्षिण, मनकाममना चौंकहुँदै कान्तिराजपथको सानोपोखरा चौकबाट भैरब रोड हुदै, सितलहल चौकबाट बाइपास क्षेत्र भित्र ठुला सवारी प्रवेशमा रोक लगाउने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बताउनु भयो ।

बजारको ट्राफिक व्यवस्थापनलाई ध्यान दिदै हेटौंडा उपमहानगरपालिकामा बसेको सवैपक्षिय बैठकले तोकिएको क्षेत्र भित्रको बजार क्षेत्रमा गर्मिको समयमा बिहान ८ बजेदेखी बेलुकी ८ र जाडो समयमा बिहान ८ बजे देखि बेलुकी ७ बजे सम्म मालवाहक सवारीमा प्रवेशमा रोक लगाएको छ । बैठकले राजमार्ग क्षेत्रहुँदै बाहिरीने सवारीलाई भने रोक नलगाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले हेटौंडा बजारमा देखिएको ट्राफिक समस्या न्यूनिकरणका लागि हेटौंडामा सञ्चालनमा रहेका तिनपाग्रे साना सवारी व्यवस्थापनको लागि हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा र बजार क्षेत्रमा देखिएको पार्किङ व्यवस्थापन मिलाउनका लागि हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जनको अध्यक्षतामा समिति गठन गरेको छ ।  

उपमहानगरपालिकाले २०७६ पुष ७ गतेबाट हेटौंडामा तिनपाख्रे सवारीलाई रुटपरमिट नदिनका लागि यातायात व्यवस्थापन कार्यालयलाई पत्र लेखेपनि बजार क्षेत्रमा सवारीको संख्या बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो । यातायात व्यववस्थापन कार्यालयका राजु अर्यालयका अनुसार हेटौंडा उपमहानगर क्षेत्रका लागि ५१० वटा सवारीलाई रुट परमिट दिएपनि अहिले बजारमा २३१ वटा इ–रिक्स र १ हजार ६ सय अटो बिरगञ्जबाट रुटपरमिट लिएर हेटौंडामा सञ्चालनमा रहको तथ्याङ रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा पुरानो नारायणी यातायात कम्पनीका सरोज खनाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापा लगाएतका संस्थागत प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

हेटौंडामा ‘सफा हेटौंडा अभियान’ को घोषणा

जनस्तरबाटै हेटौंडालाई सुन्दर र सफा बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले ‘सफा हेटौंडा अभियान" को धोषणा गर्नु भएको हो। विभिन्न समयमा हरीत हेटौंडाको नामले चर्चामा रहिरहेको शहरलाई थप शौन्दर्यता दिनका लागि अभियानको धोषणा गरिएको हो ।

उपमहानगरमा भएको सर्वपक्षिय छलफलबाट नगरप्रमुख लामाले अभियानलाई सफल बनाउँन हेटौंडावासीलाई आग्रह गर्नु भएको छ । अभियानमा स्वतर्स्फूत रुपमा हेटौंडाबासीलाई सहभागि हुन आवहन समेत गर्नु भयो । विभिन्न शहरहरुमा चलिरहेको सफाई अभियानलाई हेटौंडामा पनि कार्यान्वयनमा ल्याउनका लागि उनले सबैमा आवहन गर्नु भयो ।

उनले नगरको सौन्दर्यता बढाउनका लागि हरेक हप्ताको सनिवार नगरका विभिन्न वडाहरुमा अभियानलाई लैजाने वहाँले बताउनु भयो । अभियानले हेटौंडालाई आफुपनि सुन्दर बनाऔं भन्ने भावनाको विकास गर्ने उनको धारणा थियो । अभियान अन्तरगत सरसफाई, पार्क निर्माण,  बृक्षारोपण लगाएका कामहरु गरीने छ । अभियानलाई लामो समय सम्म अघि बढाउँने योजना सहित टोल बिकास समन्वय समितिसँगको सहकार्यमा गरीने बताइएको छ । अभियान अनुसार हेटौंडा उपमहानगरपालिका ४ मा रहेको हुप्राचौरबाट सफाई अभियानको सुरुवात हुँदै नगरका सबैवडाहरुमा अध्यक्षको नेतृत्व र टोलबिकास सस्थाको सक्रियतामा सफाई अभियानमा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय भएको छ ।