उपमहानगरपालिकाले दियो १० परिवारलाई बिऊ बाख्रा
दिगो आर्य आर्जनमा टेवा पुर्याउने लक्ष्य सहित आदिवासी जनजाती महिलाहरुका लागि हेटौंडा उपमहानगरपालिकाले विऊ बाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा रहेका विपन्न समुदायका आदिवासी जनजाती महिलाहरुलाई प्रतिघर २ वटाका दरले १० परिवारलाई विऊ बाख्रा वितरण गरेको हो ।
बाख्रा हेटौंडा ८ का कमला गुरुङ र प्रमिला चौधरी, हेटौंडा ११ का माया थापा मगर र उर्मिला गुरुङ हेटौंडा १३ का उजेली कुमाल र सुनिता मुक्तान, हेटौंडा-१५ का कुमरी तामाङ, हेटौंडा-१६ का विष्णुमाया प्रजा चेपाङ, हेटौंडा-१७ का निर्मला भुजेल र सरीता राईलाई उपमहानगरका उप प्रमुख राजेश बानियाँले विऊ बाख्रा हस्तातरण गरेका थिए । उपमहानगरको समाजकल्याण शाखाले २ लाख १५ हजार १ सय रुपियाँको लागतमा २० वटा बाख्रा खरीद गरेको थियो ।
कार्यक्रममा विऊ बाख्रा हस्तान्तरण गर्दै उपप्रमुख बानियाँले सितैआमा पाएको भनेर वेवास्ता नगरी दिकन आय आर्जनमा जोडिन आग्रह गर्नु भयो । वहाँले उपमहानगरपालिका कृषिको प्रवर्द्धन र विकासका लागि योजना बनाएरै काम गर्ने तयारीमा रहेका भन्दै पालिकाका हरेक वडामा पशु प्राविधिकको व्यवस्था गर्ने बताउनु भयो । उनले इमान्दारिताका साथ काम गरे सहयोगका लागि पालिका सधै तयार रहेको बताउनु भयो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगपालिका समाज कल्याण शाखाका अधिकृत भैरव बहादुर कुमालको सहभागितामा विऊ बाख्रा वितरण कार्यक्रम संपन्न भएको थियो ।