FAQs Complain Problems

८६ लाखको लागतमा मानवेश्वर कुण्ड निर्माण हुँदै

हेटौंडा उपमहानगरपालिका–९ कुखरेनी खोला सामुदायीक बन  क्षेत्रमा मानवेश्वर कुण्ड निर्माण थालिएको छ ।

बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मातहत रहेको पर्यटन विकास आयोजनाले बिनियोजन गरेको ८६ लाख रुपियाँ बजेट मार्फत कुण्डको पहिलो चरणको काम थालिएको हो । मानवेश्वर कुण्ड निर्माण समितिले डिपिआर तयार पारेर ९० मिटर लम्बाई र ५० मिटर चौडाईको पोखरीमा निर्माण हुने प्रोटेक्सन वालको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले शिलान्यास गर्नु भएको छ ।‍

कुण्डको शिलान्यास गर्दै नगरप्रमुख लामाले आन्तरिक र बाह्‍य आगन्तुकका लागि कुखुरेनी नयाँ गन्तव्यको रुपमा बिकास हुने बताउनु भएको छ । उहाँले उपमहानगर क्षेत्रमा यस्तै पोखरी र तालहरु निर्माण गरेर पर्यटकको आकर्षण केन्द्र बनाउने तयारीमा लागिरहेको बताउनु भएको छ ।

बागमती प्रदेश पर्यटन आयोजनाले पहिलो चरणका लागि बिनियोजन गरेको ८६ लाख रुपियाँबाट पहिलो चरणमा कुण्ड निर्माणको काम थालिएको निर्माण समितिले जनाएको छ । कुखरेनी खोला सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष अन्जन दाहालको अध्यक्षतामा भएको कुण्ड शिलान्यास कार्यक्रममा हेटौंडा-९ का वडा अध्यक्ष सुकराम केसी, १४ का अध्यक्ष दिपक खड्का, धाप टोलविकास संस्थाका अध्यक्ष लिला थापा र कुण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार मिश्रको आतिथ्यता रहेको थियो ।