FAQs Complain Problems

हेटौंडाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र बिनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित भएको छ । नगरपालिकाको सोमबार एघारौं अधिवेशनको तेस्रो बैठकले नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख सहित नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र बिनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित गरेको छ ।

 उक्त बैठकबाट न्यायिकसहित ७ समिति गठन गरेको छ भने नगरको न्यायिक समिति संयोजक श्री राजेश बानियाँ (उपप्रमुख), सदस्य श्री ज्ञानबहादुर थापा, (हेटौंडा–५ वडा सदस्य) र सदस्यमा श्री सन्तु पाख्रिन (हेटौंडा–७, वडा सदस्य) चयन हुनु भएको छ ।  

बैठकले आर्थिक विकास समितिको संयोजकमा श्री अनिल बानियाँ, सामाजिक विकास समितिको संयोजकमा श्री रामकृष्ण कोइराला, पूर्वाधार विकास समितिको संयोजकमा श्री दीपक खड्का, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा श्री फुर्वा दोर्जे लामा, संस्थागत विकास र सुशासन समितिको संयोजकमा श्री सुनिल मोक्तान रहने गरी समिति गठन गरेको छ ।

साथै साविक गाविसमा समायोजन भएको वडाहरुमा अधिकारसहित अधिकृत र लेखापाल खटाइने निर्णय भएको छ भने नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाका तर्फबाट शिक्षकको रोष्टर सूची तर्जुमा गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुविधासमेतमा सहजीकरण गर्ने गरी आधारभूत अस्पताल सञ्चालन गर्न २ डाक्टर (आठौं तह) नियुक्ति गरी परिचालन गर्ने जस्ताहरु निर्णय भएका छन् ।