हेटौँडा उपमहानगरपालिकाबाटै प्यान र भ्याटसहितका कर सेवा सुरु
हेटौँडा उपमहानगरपालिकाले करदाताहरूसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण सेवाहरू पालिका तहबाटै प्रदान गर्न सुरु गरेको छ। करदातालाई सहज, छिटो तथा पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस व्यवस्थाअन्तर्गत नगरपालिकाको आफ्नै कार्यालयबाट करदाता दर्ता, स्थायी लेखा नम्बर (PAN) सम्बन्धी सेवा, तथा मूल्य अभिवृद्धि कर (VAT) दर्ता लगायतका प्रशासनिक सेवाहरू उपलब्ध गराउन थालिएको हो।
सेवाहरुमा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता तथा रूपान्तरण,मूल्य अभिवृद्धि कर (VAT) तथा अन्तःशुल्क दर्ता एवं नवीकरण,करदाता विवरण, अभिलेख र प्रोफाइल अद्यावधिक गर्ने कार्य, कर चुक्ता प्रमाणपत्र जारी गर्ने तथा दर्ता खारेजी सम्बन्धी कार्य,कार्यालय स्थानान्तरण, शाखा थप, र बक्यौता लगत सम्बन्धी सेवा,करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनहुने भएको छ।
अब स्थानीय स्तरमै यी सेवाहरू सहज रूपमा प्राप्त हुने भएकाले व्यवसायी, उद्योगी तथा सर्वसाधारण करदाताहरूलाई ठूलो राहत मिल्नेछ। यस कदमले स्थानीय स्वायत्त शासन र सङ्घीयताको मर्म अनुरूप नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने लक्ष्यलाई सार्थक बनाएको छ।


