हेटौँडा – हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सञ्चालित “श्रमको सम्मान, राष्ट्रको अभियान” कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहिलो उपमहानगरपालिका बनेको छ।
मंगलबार आयोजित औपचारिक कार्यक्रममा उपमहानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै परिचयपत्र वितरण गरिएको छ। उपमहानगर क्षेत्रका ६० जना श्रमिकहरूलाई उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत कोषमा आबद्ध गराइएको हो।
कोषमा आबद्ध हुनका लागि उपमहानगरपालिकाले प्रतिश्रमिक रु. १,१४० तथा योगदानकर्ताले रु. १,३४० प्रतिमहिना जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ। उपमहानगर क्षेत्रका घरेलु कामदार, कृषि क्षेत्र तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्यक्रममा समावेश गरिएको रोजगार सेवा केन्द्रले जनाएको छ।
कोषमा आबद्ध श्रमिकहरूलाई हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख श्री मीनाकुमारी लामाज्यूले परिचयपत्र वितरण गर्दै आगामी दिनमा थप श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै जाने बताउनुभयो। सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु श्रमिकहरूको भविष्यका लागि लाभदायक हुने उल्लेख गर्दै उहाँले आफूसँगै श्रममा संलग्न अन्य व्यक्तिहरूलाई पनि कोषमा आबद्ध गराउन आग्रह गर्नुभयो।
