हेटौंडा उपमहानगरपालिका वडा नं. ५, राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवनको उद्घाटन सम्पन्न भएको छ। वडा अध्यक्ष श्री शुशिल घिमिरेज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्रीमती मीना कुमारी लामाज्यूको प्रमुख आतिथ्यता रहेको थियो।
उक्त अवसरमा नगर प्रमुख लामाज्यूले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै हेटौंडालाई व्यवस्थित, समुन्नत र आधुनिक नगरका रूपमा विकास गर्ने दीर्घकालीन परिकल्पनाअनुरूप विभिन्न योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो। उहाँले वडा कार्यालयलाई जनसेवाको आधारभूत इकाइका रूपमा उल्लेख गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाले सबै वडा कार्यालयहरूलाई आवश्यक अधिकार तथा जिम्मेवारी प्रदान गरिसकेको जानकारी दिनुभयो।
नगर प्रमुखज्यूले भवन निर्माण प्रक्रियामा जग्गा व्यवस्थापनदेखि निर्माण सम्पन्न हुने चरणसम्म सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै शिक्षा, स्वास्थ्य, व्यक्तिगत सिफारिस लगायतका सरकारी सेवाहरूलाई छिटो, छरितो तथा गुणस्तरीय रूपमा प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीहरूलाई थप जिम्मेवार र प्रतिबद्ध हुन आग्रह गर्नुभयो।
कार्यक्रममा वडा नं. ५ लाई नमूना वडा रूपमा विकास गर्न स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै नगर प्रमुखज्यूले सबैलाई सहकार्यका लागि आह्वान गर्नुभयो।

