हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाण्डौंमा हुने म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरीएको छ ।
असोज १२ गते काठमाण्डौंमा हुने १६ औं एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजना हुने राष्ट्रिय म्याराथन सहभागी हुने २० जना खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाले बिदाई गरेको हो। बिहीवार कार्यालयमा आयोजित बिदाई कार्यक्रममा नगर प्रमुख श्री मीना कुमारी लामाज्यू र उपप्रमुख श्री राजेश बानियाँज्यूले खादा लगाउँदै बिजयी हुन शुभकामना दिनु भएको थियो।
उपमहानगरका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्येबाट २० जनालाई प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि छनौट गरेको एथ्लेटिक्स सङ्घ मकवानपुरका सचिव श्री राजाराम पोखरेलज्यूले जानकारी दिनुभयो। विभिन्न विद्यालयमा अध्यापन गर्ने ४५ विद्यार्थीमध्ये छनौटमा परेकालाई हेटौँडामा तिन महिना क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिए पश्चात प्रतियोगितामा सहभागी हुनका लागि पठाउन लागिएको हो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्ने छन्। बिदाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार श्री कृष्णप्रसाद धितालज्यू, नगर खेलकुद बिकास समितिका अध्यक्ष श्री रबिन्द्र घिमिरेज्यू, सदस्य श्री बिजय गौतमज्यूको उपस्थिती रहेको थियो। हेटौंडाबाट प्रतियोगितामा सहभागीता जनाउनका लागि गएका खेलाडीहरुले ३ किलोमिटर र ५ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। सहभागी हुने खेलाडीहरु हेटौंडाका विभिन्न विद्यालयमा अध्ययनरत रहेका छन् ।