FAQs Complain Problems

पौष २ र ३ गते हेटौंडा उपमहानगरपालिकाको बसपार्कमा घरेलु मेला

स्थानीय घरेलु उत्पादनको प्रवर्धन गर्ने उद्देश्य सहित हेटौंडा १० बसपार्कमा पौषको २ र ३ गते मेला सञ्चालन हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा हुने मेलामा घरेलु उत्पादनको प्रदर्शनी तथा नृत्य प्रतियोगिता सञ्चालन हुने भएको हो। मंगलबार वडा कार्यालयको आयोजनामा भएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष श्री फुर्वा दोर्जे लामाले उपमहानगर क्षेत्रका १९ वटै वडामा भएको स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, उत्पादित बस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्य अनुसार मेला सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार प्रदर्शनीमा स्थानीय जातजातिका भेषभुषा झल्कने नृत्य प्रस्तुत गर्दै संस्कृती संरक्षणमा सहयोग पु¥याउने लक्ष्य कार्यालयको रहेको छ ।

दुई दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा उपमहानगरका १९ वटा वडाको उत्पादन झल्काएका लागि ३० वटा स्टल सहित यस क्षेत्रका कलाकारहरुको नृत्य प्रस्तुत हुने बताइएको छ । प्रदर्शनीको पहिलो दिन उद्घाटन सहित स्थानीय उत्पादनको बजारीकरण र दोश्रो दिन सांस्कृतिक कला सहितको नृत्य प्रतियोगिता हुनेछ।

नृत्य प्रतियोगीता सहभागी हुनेलाई वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगीतामा सहभागी हुने मध्ये पहिलो हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना पुरस्कार स्वरुप ४ जनालाई ५/५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरीएको छ ।

प्रदर्शनी मेला तथा साँस्कृतिक कार्यक्रमलाई सफल बनाउनका लागि वडा कार्यालयले ६ वटा उपसमिति बनाएर व्यवस्थित बनाउँन काम गरीएको छ। वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०/०८१ मा छुट्याएको ५ लाख रुपियाँ बजेट बाट कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  वडा कार्यालयको आयोजनामा हुने प्रदर्शनी मेलामा टोल विकास सस्था नगर समन्वय समिति, टोल विकास सस्था वडा समन्वय समिति, उद्योग बाणिज्य संघ, जाल्पादेवी महिला उद्यमी समुह, स्थानीय क्लव, टोल विकास सस्था, आमा समुह र विद्यालयसँग सहकार्य रहने बताइएको छ। पत्रकार सम्मेलनमा वडा सदस्यहरु सहित बिभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।