FAQs Complain Problems

नगरका दुई वडामा गार्मेन्ट तालिम

गाउँमै बसेर रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले यस हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट तालिम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बेसिक र दोश्रो चरणमा एड्भान्स तालिम सञ्चालन गर्दै घरमै बसेर रोजगार बन्ने अवसर यस उपमहानगरपालिकाले दिन थालेको हो ।

सुक्रबार पहिलो चरणमा हेटौंडा–५ पिप्लेमा सञ्चालन भएको एक महिने बेसिक तालिमको समापनमा यस उपमहानगरपालिकाको नगर प्रमुख मीनाकुमारी लामाज्यूले रोजगारीको अवसरबाट बिमुख भएका महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरीरहेको बताउनु भयो । उहाँले तालिम लिने मात्र होइन सिपलाई आर्यआर्जनको पाटोमा जोड्नका लागि आवश्यक सहजिकरण उपमहानगरले गर्ने भन्दै ज्ञानलाई उत्पादन सँग जोडेर काम गर्न सुझाब दिनुभयो । उहाँले अब हेटौंडा–१८ मा गार्मेन्ट तालिम सञ्चालनको तयारीमा उपमहानगर रहेको जानकारी दिनुभयो ।

पहिलो चरणको बेसिक तालिम लिएका १० जना महिलाहरुका लागि आवश्यक पर्ने मेसिनको व्यवस्थापन यस हेटौंडा उपमहानगरले गर्ने भएको छ । तालिम लिएकाहरुलाई अहिलेका लागि आवश्यक रहेको ७ वटा मेसिन मध्ये तालिमको क्रममा खरिद गरेका ४ वटा रहेको र बाँकि ३ वटा मेसिन उपमहानगरले दिने भएको छ । पहिलो चरणको बेसिक तालिममा सहभागिले सर्टपाइन्ट र फ्रक सिलाउँन सिकेका थिए । बेसिक तालिममा सहभागिलाई उपमहानगरले जेठमा एड्भान्स तालिम आयोजना गदै उनिहरुलाई दक्ष सिपकर्ता बनाउँने बताइएको छ ।

बेसिक गार्मेन्ट तालिमको समापनमा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार कृष्ण घिताल, सहकारी तथा उद्योग बिकास शाखाका हिमप्रसाद पौडेल, बेसिक तालिमका प्रशिक्षक अनुज परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको आतिथ्यता रहेको थियो ।

तालिम समापनको क्रममा उपमहानगरले रोगजारीको अवसर सृजना गर्नका लागि हेटौंडा–१७ उर्मिला सुनुवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । सिलाई कटाईको सिप भएपनि मेसिनको अभावमा रोजगारीमा जोडिन नसकेकी उनलाई उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाज्यूले हस्तान्तरण गर्नुभएको हो । उपमहानगरले आर्यआर्जनमा जोड्नका लागि १३ हजार ६ सय रुपियाँ बराबरको मेसिन सुनुवारलाई दिएको हो ।