FAQs Complain Problems

नकौंलीमा स्वास्थ्य चौकी उद्घाटनसँगै शिविर

स्वास्थ्य समस्या झेल्दै आएका हेटौंडा उपमहानगरपालिका–१ को बिकट क्षेत्र नकौलीका बासिन्दा लाभान्वित हुने भएका छन् ।सामान्य सिटामोल किन्न समेत लामो समय खर्चेर हेटौंडा बजार सम्म आउनु पर्ने बाध्यतामा रहेको उनीहरु गाउँमै स्वास्थ्य चौकी उद्घाटन भएपछि दंग परेका छन् । हेटौंडा उपमहानगरपालिकाले बिकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरेको स्वास्थ्य चौकीको उद्घाटन भएपछि उनीहरु दंग परेका हुन्। स्वास्थ्य चौकीका लागि पुर्वाधार निर्माण भएपनि खानेपानीको अभावका कारण सेवा दिन समस्या रहँदै आएको थियो । हेटौंडाबाट पानी लगे उपमहानगरले नकौली आधारभूत शहरी स्वास्थ्य चौकीबाट सेवा दिन थालेको हो ।

स्वास्थ्य चौकीको सोमबार हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख श्री मीना कुमारी लामा, उपप्रमुख श्री राजेश बानियाँले संयुक्त उद्घाटन गर्नुभएको हो। स्वास्थ्य चौकीको उद्घाटन गर्दै नगर प्रमुख मीना कुमारी लामाले घरपरिवार, छिमेकको डरले रोग लुकाएर बस्ने परम्परा रहेको छ त्यसलाई तत्काल छाड्न स्थानीयलाई आग्रह गर्नुभएको थियो साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने उपचार सेवालाई परिस्कृत गर्दै लैजान उपमहानगरपालिकाको तयार रहेको भन्दै बिस्तारै प्रसुती सेवाको पनि व्यवस्था गरीने बताउनु भयो।

कार्यक्रममा नगर उपप्रमुख श्री राजेश बानियाँले नगरको बिकासमा काम गरीरहेको बताउनुभयो, जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने क्रममा उपमहानगरको बिकट क्षेत्रको बिकासमा लागेको साथै उपमहानगरमा जोडिएका तत्कालिन गाविसहरूमा विकासको गतिलाई बिस्तार गरिदै लगिने बताउनुभयो।

उपमहानगरको स्वास्थ्य शाखाले गत बर्षबाट नियमित सेवा दिने व्यवस्था मिलाएको थियो। उपमहानगरपालिका १ नम्बर वडाको ध्याङसिंटार, बाँझोडाँडा (जेसिज गाउँ) घट्टेडाँडा, नेकपानी सहित हेटौंडा १९ को डुमाले, कुवापानी क्षेत्रमा बसोवास गर्ने नगरवासीले सुबिधा पाउने भएको हो। स्वास्थ्य चौकीको उद्घाटन सँगै आयोजित महिलाहरु लक्षित पाठेघर, स्तन क्यान्सर तथा प्रजनन् स्वास्थ्य शिविरमा स्थानीय १ सय जनाले सेवा लिएको उपमहानगर स्वास्थ्य शाखाका अहेब केशब तिमल्सिनाले बताउनुभयो। शिविरमा निःशुल्क औषधिको पनि व्यवस्थापन गरीएको थियो। उपमहानगर स्वास्थ्य शाखाको आयोजनामा भएको स्वास्थ चौकी तथा शिविर उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ८ नम्बरका वडा अध्यक्ष रामकृष्ण थापा, ९ नम्बरका वडा अध्यक्ष सुकराम केसी, कार्यपालिका सदस्यहरु पातलि माया गोङवा, रुक्मिणी गोङवा, ईश्वरी रसाइली लगायतको आतिथ्यता रहेको थियो ।

हेटौंडा १ का वडा अध्यक्ष श्री सबिन न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उहाँले स्थानीयका लागि पानी, प्रसुति सेवा, कृषि, बाटो पुर्वाधार सहितको व्यवस्थापनमा उपमहानगरले ध्यान दिँदै कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो।