FAQs Complain Problems

तीन पाङ्ग्रे सवारी व्यवस्थापन गर्दै हेटौंडा उपमहानगर

तीन पाङ्ग्रे सवारी व्यवस्थापन गर्दै हेटौंडा उपमहानगर

                हेटौंडा बजारमा देखिएको सवारीसाधनको चाँपको व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीन पाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्ने भएको छ । उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त तीन पाङ्ग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गर्न लागेको छ ।

                उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले उपमहानगरपालिकाभित्र सञ्चालनको लागि परमिट प्राप्त तीन पाङ्ग्रे सवारी साधनलाई नगरभित्र सञ्चालन अनुमतिको स्टिकर प्रदान गर्ने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिनु भयो। वहाँका अनुसार -"गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासंगको पटकपटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो निर्णय गरेको हो ।"

                २०७६ साल पुसको ७ गतेको बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीन पाङ्ग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उक्त मिति पछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर हेटौंडा बजार क्षेत्रमा अनाधिकृतरुपमा सञ्चालन भइरहेका तीन पाङ्ग्रे सवारीसाधनलाई निषेध गर्ने गरी यो निर्णय गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो । स्टिकर प्रदान गरेसंगै अब हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन अनुमति लिएका तीन पाङ्ग्रे सवारीसाधनबाहेक अन्यलाई निषेध गरिने वहाँले जानकारी दिनु भयो ।

                हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको बैठकले नगर प्रमुखको संयोजकत्वमा रहने नगर विपद् व्यवस्थापन समितिमा नगरसभा सदस्यमध्येबाट हेटौंडा–१ सदस्य मनु दाहाल र हेटौंडा–१६ का सदस्य संगीता विश्वकर्मालाई सदस्य मनोनित गर्ने निर्णय गरेको ‍हो । यस्तै, हेटौंडा-२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा उपमहानगरपालिका अन्तर्गत पर्यटन विकास समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा कार्यपालिका सदस्यद्वय अर्जुन राई र मञ्जु भुर्तेललाई सदस्य चयन हुनु भएको हो । समितिमा आवश्यकता अनुसार पर्यटन व्यवसायसँग सम्बन्धित व्यक्तिहरुलाई सदस्य मनोनित गर्न सकिने प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो ।

                 बैठकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा सबै उपभोक्तालाई मासिक १० हजार लिटर पानी निःशुल्क वितरण गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको छ । बोर्डको कार्यक्षेत्रलाई विस्तार गर्दै क्रमशः हाल बोर्डको क्षेत्र नपरेका वडाका खानेपानी उपभोक्ता समितिहरुलाई पनि क्रमशः बोर्ड अन्तर्गत् ल्याएर निःशुल्क पानी वितरण गरिने विषयमा कार्यपालिका बैठकमा छलफल भएको प्रवक्ता सविन न्यौपाने ज्यूले जानकारी  गराउनु भयो ।