FAQs Complain Problems

कर्रामा गुम्बाको उद्घाटन

हेटौंडा-१०, कर्रामा विभिन्न दाताहरूको सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको गुम्बाको सोमबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाज्यूको प्रमुख आतिथ्यतामा विधिवत् उद्घाटन गरिएको छ।

सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख लामाज्यूले कर्रा क्षेत्र लामो समयदेखि ओझेलमा परिरहेको उल्लेख गर्दै यसको विकासका लागि सबैको हातेमालो अपरिहार्य हुने बताउनुभयो। उहाँले करिब ३४ वर्षअघि गुम्बा क्षेत्रको रूपमा विकास थालिएको यस स्थानले अपेक्षाअनुसार प्रगति गर्न नसकेको उल्लेख गर्दै उपमहानगरपालिकाबाट अब विकासको गति तीव्र पारिने आश्वासन दिनुभयो।

उहाँका अनुसार, कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटो व्यवस्थित गरी त्यसपछि अन्य विकासका कार्य अघि बढाइनेछ। गुम्बाको पूर्वाधार विकासका लागि पनि पालिकाबाट सहयोग गरिने उहाँले स्पष्ट पार्नुभयो।

२०७८ सालमा हेटौंडा उपमहानगरपालिका तथा वडा नं. ९ र १० को संयुक्त ३४ लाख रुपैयाँ बजेटमा आरम्भ गरिएको गुम्बा निर्माणमा स्थानीय निकायसँगै विभिन्न क्षेत्रका महानुभावहरूले आर्थिक तथा सामग्री सहयोग गर्नुभएको थियो। भवन तयार भए पनि गुम्बाको भित्री सजावट तथा अन्य संरचनागत कार्य अझै बाँकी रहेको समितिले जनाएको छ।

गुम्बा निर्माणमा उल्लेखनीय योगदान पु‌र्याउनु भएकामा उपमहानगरपालिका तथा वडा नं. ९ र १० लाई सम्मानपत्र प्रदान गरिएको थियो।

उद्घाटन समारोह गुम्बा समितिका अध्यक्ष अमर लामाज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाज्यू, वडा सदस्य बिमल लामाज्यू, गुम्बा समितिका संरक्षक किताब सिंह लामाज्यू, ¥याङला गुठि समाजका अध्यक्ष सानुकुमार लामाज्यूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।