मिति २०८१ माघ १४ गते, सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नगर भित्र रहेका स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने जानकारी गराइएको हो।
उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ बिद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय नगएका १० देखि १४ बर्षका किशोरीहरुलाई आउँदो २२ देखि २८ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिनुभएको थियो । उपमहानगर मार्फत सञ्चालित १ सय ११ स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने १ सय १८ सेसनबाट कुल ९ हजार २३८ जना लाई खोप दिइने छ । अभियानलाई आगामी बर्षबाट बिद्यालय स्तरमा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई नियमित खोप दिने छ।
उपमहानगरपालिकाका खोप समन्वय समितिका प्रमुख तथा नगर प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भएको अभिमुखीकरणमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न महाशाखा तथा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।